काठमाडौं – उखुको रसलाई पकाएर अनि जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा क्षणिक शक्ति प्राप्त हुने मात्र नभएर यसलाई औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ । चिनी धेरै रोगमा बन्देज गरिएको हुनाले त्यसको विकल्प खोज्न निकै आवश्यक हुन्छ । सख्खर, चिनीको उत्तम विकल्प हो । यसको सेवनले शरीरमा विभिन्न प्रकारका फाइदा हुने भएर आयुर्वेदमा विभिन्न उपचार पद्धतीमा यसको प्रयोग भएको पाइन्छ ।
सख्खरलाई यसरी प्रयोग गर्नाले यसका लाभ उठाउन सकिन्छ :
- कम्मर दुख्ने समस्या भएमा एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पारेर हरेक दिन बिहान–बेलुका तातोपानीसँग एक–एक चम्चा सेवन गर्नाले राहत मिल्छ ।
- कफको समस्यामा दुई दाना फुराएको मरिच पिनेर तयार गरिएको मसिनो पाउडरलाई एक चम्चा सखरमा मुछेर स–साना गोली तयार गरेर सेवन गर्न सकिन्छ ।
- केहि दाना जिरालाई पानीमा उमालेर उक्त पानीमा सख्खर मिसाएर चिया जसरी खानाले पुरानो ज्वरो निको हुन्छ ।
- आधा चम्चा भुटेको रायोको धुलो र आधा चम्चा सख्खरको मिश्रणलाई एक गिलास मनतातो पानीसँग सेवन गर्नाले पेट दुखेको समस्यामा आराम दिलाउँछ ।
- घाँटी बसेको समस्यालाई निको पार्न आधा–आधा चम्चा ज्वानो र सखरको धुलो मिसाएर पानीमा राम्रोसँग उमालेर पिउन सकिन्छ । यस्तै भुटेको ज्वानो र सखर मिसाएर लड्डु बनाएर खानाल शरीर दुखेको निको हुन्छ ।
- पिसाब पोल्ने समस्या तथा जन्डिस जस्तो स्वास्थ्य समस्यामा पनि सानो टुक्रा सखर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्ने गर्छ ।