सत्ता गठबन्धन दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका छन्। कोइराला बिहीबार बालकोट पुगेर दुई घण्टा लामो वार्ता गरेका हुन्।
स्रोतका अनुसार उक्त वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो।
कांग्रेसको चौधौँ महाधिवेशनपछि देउवाले आफूलाई पेलिरहेको गुनासो गरेका शेखरले मंसिरमा हुने निर्वाचनका लागि ४० प्रतिशत उम्मेदवारी दिनुपर्ने माग गरिरहेका छन्। तर उता देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला शेखरले पनि एमालेसँग संवाद गरेका हुन्। कोइरालाले एमालेसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि कांग्रेसबाट गठबन्धनमा ९० सिट आसपास झरेर सहमति गर्न सकिने बताएको छ। शेखर समूहले पार्टीमा मागेजति भाग नपाएको अवस्थामा चाल्न सकिने विकल्पका लागि पार्टीबाहिर पनि छलफल थालेको हो। त्यही अन्तर्गत शेखर बालकोट पुगेका छन्।
गठबन्धनले भागबण्डा मिलाउन कोसिस गरिरहेका बेला शेखरले ओलीसँग गोप्य वार्ता गरेर फर्किएका छन्। शेखरसँग संवाद गरेका ओलीले कांग्रेसले गठबन्धनका नाममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता नेताहरुलाई साथमा लिएर हिँड्न नहुने बताउँदै आएका छन्।
ओलीसँगको भेटबारेमा शेखरनिकट एक नेताले पुष्टि गरे पनि विस्तृत कुराकानीबारे खुलाउन मानेनन्। बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको हो ।
केही दिनअघि कांग्रेसका अर्का नेता डा .मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
