काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन–३ बाट नै उठ्ने बताएका छन् । उनले आफूले यसअघि नै चितवन–३ बाट उठ्ने भनेर घोषणा गरिसकेकोले त्यसबाट दायाँ बायाँ नहुने स्पष्ट पारे ।
आज (शुक्रबार) विहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा पत्रकारले उनलाई चितवन–३ बाट उठ्ने भए अब बादलसँग प्रतिष्पर्धा हुने भयो होईन त ? भनेर सोधेको प्रश्नमा उनले भने–‘ह्या, तुलनै नहुने कुरा नसोध्नुहोस क्या, तपाईँहरुले ।’
दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग् एकताको तयारी भइरहेको पनि बताए । उनले पार्टी एकताको लागि छिट्टै एकता संयोजन समिति बन्ने सुनाए । उनले आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र एउटै हुने जनाए ।
‘हामी समाजवादीसँग एकताको तयारी गर्दैछौं। केही समयपछि पार्टी एकता संयोजन समिति बनाउँदेछौं,’ प्रचण्डले भने, ‘घोषणापत्र एउटै गर्नेतिर हाम्रो प्रयास भइरहेको छ। तरपनि चुनाव चिन्ह चाँही आ–आफ्नो हुन्छ।’
कर्णालीमा माओवादी केन्द्रको प्रभाव भएको उनले बताए। ‘कर्णाली माओवादीको राम्रो प्रभाव भएको क्षेत्र हो। संघ र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने सोचेका छौं,’ प्रचण्डले भने, ‘अघिल्लोपटक एमालेसँग तालमेल गर्दा टेक्निकल मिस गरेका छौं। अहिले तयो मिस नगर्नेगरी सोचेका छौं।’
त्यस्तै, प्रचण्डले सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र असहमति नभएको दाबी गरेका छन्।
सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। ‘असहमति छैन। प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रीत छ।’ प्रचण्डले भने।
प्रदेश र केन्द्रमा सन्तुलन मिलाएर जाने। हामी एक्लै जित्ने ठाउँमा अन्य गठबन्धनका दलहरुलाई समायोजन गरेर लाने तयारी भएको प्रचण्डले बताए।
साथै, उनले आफू राष्ट्रपति बन्ने हल्ला विल्कुल गलत भएको बताए। संचारकर्मीले तपाईं राष्ट्रपति बन्न लागेको हो? भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘म राष्ट्रपति बन्ने कुरा विल्कुल गलत हो। म प्रष्ट भनिसकेको छु चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने छु।’
