काठमाडौं – पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपतकालीन अवतरण गरिएको छ।
आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको उक्त जहाजमा समस्या आएपछि उडेको ७ मिनेटपछि पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।
जहाजमा इन्टिकेसनमा समस्या आएपछि सोही विमानस्थलमा अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।
क्याप्टेनले सिंगल इन्जिनबाट जहाज अवतरण गराएको र इन्जिनियरहरुले चेकजाँच गरेपछि समस्याको पहिचान हुने चालिसेले बताए। उक्त जहाजमा १८ यात्रु सवार थिए। सबै यात्रु तथा चालक दल सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
गत जेठमा पोखराबाट जोमसोम उडानको क्रममा तार एयरको जहाज दुर्घटनापछि लामो समय उडान हुन सकेका थिएनन्। साउन २ गतेबाट समिट एयरले नियमित उडान थालेको थियो।
समिट एयरले दैनिक ३ वटा उडान तालिका भए पनि यात्रुको चाप हुँदा ५ वटा सम्म उडान भर्ने गरेको छ।
