नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधिसभा सदस्य अमेरेशकुमार सिंहलाई कारबाही गरेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो।
जिल्ला सदस्य विकास ठाकुरले नेता सिंहलाई निलम्बन गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्, ‘स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गर्ने नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का सांसद मा. डा. अमरेशकुमार सिंहलाई अनुशासन समितिको २०७९/०३/०२ को निर्णयअनुसार पार्टीबाट निलम्बन गरिएको छ।’
जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको पाइएको छ।
अनुशासन समितिका संयोजक डा. सरोजकुमारद्वारा हस्ताक्षरित पत्रमा कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख छ।
विधानको धारा ३४ (अनुशासनसम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने लेखिएको छ।
