पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर छाड्न निर्देशन दिएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।
पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद लिएर गुरूङमाथि प्रहरीले अभद्र व्यवहारअन्तर्गत अनुसन्धान गरिरहेको छ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिसँग बसेर गफ गरिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङलाई सोमबार लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेर भेटेका थिए। भेटपछि लामिछानेले तस्बिर समेत सार्वजनिक गरेका थिए।
तस्बिर सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र धानुकले जानकारी दिए।
प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको हो। उनले भेटको क्रममा त्यहाँ रहेका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)लाई छानबिनका लागि रानीपोखरी तानेको बताए।
‘परिसरका एसपी मैनालीको नेतृत्वमा छानबिन गर्न समिति गठन भएको छ। कानुन बमोजिम काम गर्नुपर्नेमा त्यसभन्दा बाहिर गएर गर्नुहुन्न,’ एआइजी धानुकले भने, ‘छानबिनपछि के आउँछ, त्यसपछि थाहा हुन्छ।’
