संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी छुटेका छन्।
सोमबार साँझ गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ हिरासतबाट छुटेका हुन्। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए।
मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।
उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पनि दिएको थियो।
तर मन्त्री श्रेष्ठले आफ्नो पदीय दुरूपयोग गरी आफ्नो डिउटी पूरा गर्ने सुरक्षागार्ड गुरूङलाई हिरासतमा पठाएको भन्दै आलोचना भएको थियो। त्यसपछि सोमबार उनैले गृहमन्त्री बालकृष्ण खाणलाई हिरासतमुक्त गराइदिन आग्रह गरेका थिए।
त्यसपछि खाणले गुरूङलाई छाड्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए
यता गरूड सेक्युरिटिजले भने आफ्ना गार्डको कुनै गल्ती नभएको दाबी गरेको छ। उनको रिहाइको माग गर्दै सोमबार नै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा समेत दायर भएको थियो।
