भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।
आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।
नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ। केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे पाँच दिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए।
त्यस्तै, जनरल मनोज पाँडे र नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। सोमबार बिहान सैनिक मुख्यालयमा जंगअड्डामा उनीहरुबीच भेटवार्ता भएको हो।
सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुखको बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापतिलाई भेट्नुअघि पाण्डेले टुँडिखेल स्थित सैनिक मञ्चमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानसेनापति सँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो । सम्मान गारत निरीक्षण पछि दुई देशका प्रमुखको बिचमा भेटघाट सुरु भएको नेपाली सेनाले जनाएको छ ।
भारतीय सेनाले नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेको छ। टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा सोमबार आयोजित एक विशेष समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
