राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी छन्।
मंगलवार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन्।
उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन् । उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताइन् ।
सांसदहरूले विधि बनाउने भन्दै उहाँले विधि उल्लङ्घन गर्ने पनि उनै विधि बनाउनेहरू नै भएको टिप्पणी गरिन्।
यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उहाँले सरकारको ध्यानाकर्षण पनि गराईन्।
उनले भनिन् – ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अङ्गहरू जनताका सेवक हुन् । शासन होइनन् । दुई दिन अगाडी मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा खेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उहाँले यसमा सार्वजनिक रूपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ । तर सार्वजनिक रूपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना गार्ड र एकजना मन्त्रीको मात्रै कुरा होइन । विधि बनाउने हामी, विधि उल्लङ्घन गर्ने हामी, विधि उल्लङ्घन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामी ? यो भएन । यसलाई सरकारले तुरुन्तै ध्यान पुर्याओस् । र यो खालको घटना फेरि नदोहोरियोस् भनेर पनि म सरकारप्रति माग गर्न चाहन्छु । र मन्त्रीले सार्वजनिक रूपमा माफी मागुन् भनेर पनि माफी माग गर्न चाहन्छु ।’
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आउँदाे सङ्घ र प्रदेश चुनावमा महिलाहरूलाई धेरै भन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरूलाई आग्रह गरिन् । उनले डेङ्गी देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, कीटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गरिन्।
