काठमाडौं – सत्तारूढ नेकपा (माओवादी केन्द्र) मा विवाद उत्पन्न भएको छ। अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आज पार्टी अध्यक्ष प्रचण्डकै अगाडि उपमहासचिव पद अस्वीकार गरेका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए । उनले आफू नेतृत्वको कडा आलोचक र कडा समर्थक भएको पनि टिप्पणी गरेका थिए ।
शर्मापछि सम्बोधन गरेका अध्यक्ष प्रचण्डले भने आज छोटो सम्बोधन गरेका थिए । उनी केही तनावमा देखिन्थे । माओवादीले हालै पदाधिकारीको टुँगो लगाएको थियो ।
यसअघि शर्मा महासचिवको दाबेदार थिए । शर्मासँगै अर्का नेता वर्षमान पुनले पनि महासचिवमा दाबेदारी राखेपछि प्रचण्ड दबाबमा थिए । उनले विवाद नहोस भनेर शर्मा र पुनलाई छाडेर देव गुरुङलाई महासचिव बनाएका थिए ।
महासचिवका दाबेदारहरु शर्मा र पुन उपमहासचिवमा समेटिएका थिए । पार्टीको बैठकमै शर्मार्ल उक्त निर्णय प्रक्रियामा नोट अफ डिसेन्ट लेखेको चर्चा थियो । तर, आज भने उनले उपमहासचिव पद नै अस्विकार गरिदिए । यसले चुनावको मुखमा माओवादीलाई समस्या पर्ने देखिन्छ । यसले गर्दा पनि आज प्रचण्ड निकै तनावमा देखिन्थे ।
त्यस्तै, अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच एउटै मञ्चमा भनाभन पनि भयो । बुधबार काठमाडौंमा भएको अखिल क्रान्तिकारीको अखिल फोर्स कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच भनाभन भएको हो।
प्रचण्ड अगाडि बोलेका शर्माले प्रचण्डको आलोचक र रक्षक आफैं भएको दाबी गरेका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले जनार्दनलाई हुर्काएको र रक्षा पनि आँफैले गरेको बताए।
‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले औला तोक्दै भने, ‘ जनार्दनलाई रक्षा गर्ने र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तराईँहरु सबैले बुझन् जरुरी छ।’
प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए। तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो।
‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त? –राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन,’ प्रचण्डले थपे, ‘तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्। हाम्रो क्रान्तिकारी विरासतलाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती गरेर अगाडि बढुन। यही मेरो सपना छ। विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्न लाग्नुहोस्।’
जम्मा ८ मिनेट बोलेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, आन्दोलनलाई बलियो बनाउन सबैलाई फिल्डमा जान निर्देशन दिए।
