नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठनमा विगत लामो समयदेखि विवाद चल्दै आएको छ । २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको हलबाट सुरु भएको त्यो विवाद २०७९ वैशाख ४ र ५ गते zoom माध्यमबाट भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले संगठनलाई दुई समुहमा विभाजित बनायो ।
संगठनको विधि विधान नमानेको र विधान विपरीत गरेको निर्णयलाई सच्याउन माग गरेका कार्की समुहले अन्तत्त समानान्तर समिति नै बनाए । छुटाछुट्टै समिति बनाएर सम्मेलन, भेला, प्रशिक्षण कार्यक्रम, तथा सडक आन्दोलन गर्दै हिँडेका छन् ।
दुवै समुह बीच कार्यक्रम गर्ने होडबाजी र प्रतिष्पर्धा नै चलेको छ । पछिल्लो समय दुइटै कमिटीले अलग अलग चुनावी फोर्स गठन गरेका छन् । पञ्चा समुहले प्रचण्डलाई प्रमुख अतिथि बोलाएर घोषणा गरेका थिए भने एक दिन अगाडि नै कार्की समुहले माईतीघरदेखि बानेश्वरसम्म मार्च पास सहित बानेश्वरमा घोषणा सभा गरेका थिए ।
पार्टीले पटक पटक बैठक बसी विद्यार्थी संगठनको विवाद मिलाउने प्रयास गरेको थियो । विवाद हल गर्नको निम्ति पार्टी अध्यक्ष प्रचण्डले सुझावसहित निर्देशन पनि दिएको थियो तर उक्त निर्णय कार्यान्वयन हुन नसक्दा गत असार ५ गते रोयल व्यनकेटमा हुने भनिएको तेश्रो केन्द्रीय समितिको बैठकमा दुई समूह वीच हात हालाहाल नै भयो ।
त्यस दिन पवन कार्की, उपदेश यादव, बालकुमार केसी, रबिन जंग बस्नेत, समीर बुढाथोकी, बसन्ता भण्डारी, संजिव चौधरी, पदम नेपालीलाई कारबाही गरेको थियो । त्यसपछि औपचारिक रुपमै छुट्टै समिति बनाई पवन कार्की समुहले कार्यक्रम , भेला गर्दै हिँडिरहेका छन् ।
अध्यक्ष पञ्चा सिँहले कारबाही गरे पनि पार्टीको विशेष प्रदेश सिमितिले पवन कार्कीलाई रामेछाप जिल्लाको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ सङ्घमा सिफारिसको निम्ति नाम प्रस्ताव गरेको छ भने संगठनको प्रवक्ता उपदेश यादवलाई रौतहट जिल्लाको निर्वाचन क्षेत्र २ (ख) मा प्रत्यक्ष तर्फको प्रदेश सभा प्रतिनिधि सदस्यको निम्ति नाम सिफारसको प्रस्ताव गरेको छ ।
विद्रोही कमिटी कै विदेश विभाग प्रमुख समीर बुढाथोकी लाई सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. १ को ख मा प्रत्यक्ष तर्फको प्रदेश सभा प्रतिनिधि सदस्यको निम्ति नाम सिफारसको प्रस्ताव गरेको छ ।
सम्पर्क विभाग प्रमुख बसन्ता भण्डारीलाई गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा समानुपातिक तर्फ नाम सिफारिसको प्रस्ताव गरेको छ । साथै विद्रोही कमिटीकै निर्वाचन आयोग प्रमुख भोला यादवलाई सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश सभाको प्रत्यक्ष उमेदवारको लागि नाम सिफारिसको प्रस्ताव गरेको छ ।
पञ्चा सिंहले कारबाही गरे पनि पार्टीले सो कारबाही नमान्ने पटक पटक धारणा बताउँदै आएका छन् । र कार्की समुहले तिब्र गतिमा सबै तहका कमिटीहरु बनाउँदै हिँडेका छन् । सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं. २ प्रदेश (ख) को लागि पञ्चा सिंहको नाम सिफारिस प्रस्ताव भएको छ ।
उक्त प्रस्तावहरू जिल्ला समिति , प्रदेश समितिले नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय लाई पठाएका हुन । संस्थापक अध्यक्ष पञ्चा सिंहले कार्की समुहलाई अराजक भन्दै कारबाही गरेको र सो कारबाही पार्टीले अनुमोदन गर्नको निम्ति पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन् भने कार्की समुहले संगठनको आन्तरिक एकता जोगाउन नसकेको हुनाले उचित छानबिन सहित पञ्चा सिंहलाई नै कारबाही को माग गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले कुनै पनि विषयमा अहिलेसम्म कुनै निष्कर्ष दिएको देखिदैन ।
