आहा ! विद्यार्थीको खाजा यस्तो पो, तपाईहरु पनि सिक्ने कि ?

लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खीरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी। उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो। खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे।

कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ। फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ। परम्परागत रूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन।

यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो। पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो

खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खीरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताए।

‘पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्’, उनले भने, ‘विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ।’

पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ। विभिन्न रोग प्रतिरोधात्मक कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन्।

कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ। विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन्।

मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ। पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ। कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ।

विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताए। ​

कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ। नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ। नेपालका विभिन्न स्थानमा प्राचीनकालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ।

नेपालका कणाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषक बताउँछन्। पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नका रूपमा समेत लिने गरिन्थ्यो।

असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकाले यसलाई अनिकालको अन्न भन्ने गरिएको हो। कागुनोको भात, खीर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सीसमेत बनाउन सकिने यो बाली बाँझिएका जग्गामा लगाउन सके स्थानीयको आयआर्जन बढाउन सकिन्छ।

कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताए।

“हाम्रा बाँझिएका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उनले भने।

कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताए।

लीला आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घरघरमा सन्देश पुग्ने विश्वास व्यक्त गरे। शिक्षक प्रितम देवकोटाले बाँझिएका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा राखे। रासस

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको