काठमाडौँ – प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फोटो पत्रकारहरुलाई प्रवेशमा रोक लगाएकोप्रति राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले आपत्ति जनाएको छ ।
एनएफपीजेका कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले एक विज्ञप्ति निकालेर प्रजातन्त्र आएको ७३ वर्ष भईसक्दा पनि यसरी पत्रकारहरुमाथि नै निषेध गर्नु ठिक नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
कार्यबाहक महासचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्रको ७३ वर्ष बितेर आजको दिनसम्म आईपुग्दा पनि पत्रकारले फोटो तथा भिडियो खिच्न नपाउने तन्त्र आखिर कसका लागि हो ? कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो ।’
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) फोटो पत्रकारहरुको साझा संगठन हो । देशैभरि छरिएर फोटो पत्रकारिता गरि रहेका फोटो पत्रकारहरु विगत २६ वर्षदेखि यही संस्थालाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध रहेका छन् । २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको कार्यबाहस महासचिव श्रेष्ठले बताएका छन् ।
आगामी दिनमा यस्ता कार्य सच्याएर सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन नेपाल फोटो पत्रकार समूहले सम्बन्धित निकायसँग माग गरेको छ ।