प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको २० वर्षसम्म पार्टीको नेतृत्वका लागि आश नगर्न नेताहरूलाई आग्रह गरेका छन्।
शुक्रबार एमाले जिल्ला कमिटी कास्कीका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै ओलीले आफ्नो जुँगा कालो हुँदै गएको र झरेको कपाल पनि पलाउन थालेको भन्दै अझै २० वर्ष सक्रिय राजनीतिमा रहने उल्लेख गरे।
‘कसैले एमालेबिनाको नेपाल भने कठैबरा! माया लाग्छ एमालेबिनाको नेपाल, कसैले केपी ओलीबिनाको एमाले भनेको सुन्दा दया लागेर आउँछ’, उनले भने, ‘केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला। मैले पोहोर परारै पनि भनेको थिएँ। जुँगा काला-काला भएका छन्। मेरो सबै झरेको कपाल पलाउन थालेको छ। रोपेको होइन, आफैं पलाउन थालेको छ। अस्ति नै भनिसकेँ २० वर्षजति अरू कसैले आश नगरे हुन्छ।’
उनले एमालेलाई कमजोर पार्ने गरी अघिल्लो वर्ष प्रयास भए पनि त्यो सफल नभएको पनि बताएका छन्।
‘एक लय, एक ताल, एक सुरमा अगाडि बढ्नुस्,’ ओलीले भने, ‘अधिवेशनबाट समस्या सुरु होइन, अन्त्य गर्ने हो। नेकपा एमाले त्यही पार्टी हो।’
ओलीले बिग्रिने पार्टीहरूको अधिवेशन र महाधिवेशनबाटै मतभेद सुरु हुने टिप्पणी गर्दै एमाले कार्यकर्ताहरूलाई एकतावद्ध भएर अघि बढ्न पनि सुझाए।