पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्।
प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतको पक्षमा ३०, विपक्षमा २७ र २ जना सांसद तटस्थ बसेको उनले घोषणा गरे।
मुख्यमन्त्रीलाई एमालेका २२, माओवादी केन्द्रका ७ जना र स्वतन्त्र सांसद राजीव गुरुङले विश्वासको मत दिएका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २७ जना सांसद विपक्षमा उभिएका थिए।
दुईजना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ रह्यो। माओवादी केन्द्रबाट चुनाव जितेका सभामुख भने निर्वाचन प्रक्रियामा सहभागी भएनन् तर उनले सर्वोच्च अदालतले यही वैशाख १७ गते गरेको फैसलामा टेकेर खगराजले ६० सदस्यीय संसदमा ३० जनाबाटै बहुमत सिद्ध गरेको घोषणा गरे।
सर्वोच्चको वैशाख १७ गतेको फैसलामा ‘गण्डकी प्रदेशको जम्मा प्रदेशसभा सदस्य ६० जना रहेको र प्रत्यर्थी माननीय खगराज अधिकारीको दाबीमा नेकपा (माओवादी केन्द्र) को सदस्य संख्यामा सभामुखलाई गणना नगर्दा पनि प्रदेशसभा सदस्य ५९ जनामा ३० जनाको संख्या पुगेको देखिन्छ’ भन्ने ब्याख्या रहेको छ।
सभामुखले त्यसैमा टेकेर यहाँ ३० लाई नै बहुमत प्राप्त भएको घोषणा गरेका हुन्। उनले आफूसँग आवश्यक अवस्थामा मतदान गर्ने अधिकार सुरक्षित रहेको जानकारी भएको घोषणा पनि गरेका छन्।