हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराई भूभागको मौसम मुख्यतया सफा रहेको छ।
कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेकाे छ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने अनुमान छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।