काठमाडौं – वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । नागरिकता दुरुपयोग आरोपमा पक्राउ परि हिरासतमा रहेका कान्तिपुर दैनिकका अध्यक्ष सिरोहियाको पक्षमा बोलेर चौतर्फी आलोचना खेपेपछि माफी मागेका हुन् ।
‘अदालतमा विचाराधिन विषयमा हामीले नबोलेको भएपनि हुन्थ्यो । तपाईंहरुले हामीलाई यति समयसम्म साथ दिनु भयो । अब पनि सबै कुरालाई बिर्र्सिएर हामीलाई माफी दिनुहोला,’ दुवै जनाले भनेका छन् । सामाजिक संजाल फेसबुक मार्फत आचार्य र श्रेष्ठले माफी मागेका हुन् ।
सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको छ ।
मह जोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूको प्रष्टीकरण छ ।