नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गर्ने निर्णय गरेको हो । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई नेपाल झिकाएर सैनिक प्रहरीको हिरासतमा लिएर अनुसन्धान गरिएको थियो। मल्ल झण्डै साढे ४ महिनाअघि सैनिक सल्लाहकारको रूपमा न्यूयोर्क पुगेका थिए ।
जन्ममिति र नाम सच्याएको विवादमा तानिएका मल्ललाई समरी सैनिक जनरल अदालतले सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ । विवादित विषयमा उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो ।
महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई फिर्ता बोलाएर अनुसन्धान थालिएको थियो । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् ।