सामाजिक सञ्जालमा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन प्रचार गरिएको खबर झुटो रहेको पाइएको छ। आज दिउँसो जोमसोमको लागि तारा एयरको कुनै फ्लाइट नरहेको पोखरा विमानस्थल कार्यालय जनाएको छ ।
सामाजिक सञ्जाजाल प्रयोगकर्ता मधु बासकोटा, कृष्ण आचार्यलगायतले पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको भन्दै सूचना राखेपछि हल्लीखल्ली भएको हो।
तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ । दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा छ ।
यती ग्रुपका अध्यक्ष लाक्पासोनाम शेर्पाले पोखरामा तारा एयरको कुनै पनि जहाज नभएको जानकारी दिए। उनले सामाजिक सञ्जालमा केही व्यक्तिले अनावश्यक हल्ला गरेको भन्दै सामाजिक संजालमा फैलिने यस्ता झुटो खबरबाट टाढै रहन आग्रह गरे।