राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकाल पदमुक्त भएसँगै पार्टीभित्र उनको ठाउँ लिने नेताको खोजी शुरू भएको छ । पार्टी हितविपरीतको गतिविधि गरेको ठहर गर्दै पार्टीले ढकाललाई महामन्त्रीसहित प्रवक्ता र केन्द्रीय सदस्यबाट समेत पदमुक्त गरेपछि आकांक्षी नेताहरू उनको ठाउँ लिन दौडधुपमा लागेका हुन् ।
ढकाललाई पदमुक्त गरे पनि ३५ दिनभित्र कारबाही फुकुवाका लागि पुनरावेदन गर्न समय दिइएको छ । तर, सिंगो केन्द्रीय समितिले नै कारबाही गर्ने मत दिएपछि अब उनी रास्वपामा फर्किने सम्भावना असाध्यै कम रहेको नेताहरू बताउँछन् । ढकाल नफर्किने पक्काजस्तै भएपछि उनले होल्ड गरेको महामन्त्री र प्रवक्ता बन्न नेताहरूबीच हानथाप नै चल्न थालेको नेताहरू बताउँछन् ।
रास्वपामा महामन्त्रीका चार जना दाबेदार देखिएका छन् । ‘महामन्त्रीका लागि मुख्य दाबेदार ४ जना हुनुहुन्छ । तर, प्रमुख सचेतक सन्तोष परियार मुख्य दाबेदार देखिनुभएको छ,’ रास्वपाका एक नेताले भने, ‘उहाँले आफूलाई महामन्त्रीको लागि सभापतिसमक्ष नै दाबेदारी दिनुभएको बुझेका छौं ।’
उनीबाहेक कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य र मनिष झा पनि महामन्त्रीका मुख्य दाबेदार हुन् ।
महामन्त्री सभापतिपछिको शक्तिशाली र कार्यकारी पद हो । यसैले रविले विश्वासिलो नेतालाई यो पद थमाउने तयारी गरेका छन् । महामन्त्री र प्रवक्ता अलगअलग गर्दा पार्टी संगठनको काम र प्रचारको काम व्यवस्थित हुने रास्वपाको नेताको बुझाइ छ ।