काठमाडौं – काठमाडौं क्षेत्र १ काे बुद्धनगरमा मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क निर्माण गरिएको छ । आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्ककाे माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूले समुद्घाटन गरे । बाग्मती प्रदेश सरकारकाे संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयकाे बजेटमा पार्क निर्माण भएकाे हो।
`नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ पार्क उद्घाटन समाराेहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएकाे आन्दोलनकाे उपलब्धि पनि हाे ।´
नेवारी माैलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शाैचालयसहितकाे व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्ककाे सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।