यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै ट्रेकिङ् जाने कुरा चलेको थियो, तर कहाँ जाने भन्ने यकिन गर्न सकेका थिएनौं। तिहारको बिदा सुरु भएपछि छोटो समय भएकाले भाइटीकाकै भोलिपल्ट अचानक पाँचपोखरी ट्रेकको यात्राका लागि निस्कने कुरा तय भयो। भाइटीकाकै भोलिपल्ट छिम्तीको गाडी पो जाला कि नजाला भन्ने चिन्ता थियो। साथै अर्को चिन्ता — केही गरेर गाडी गयो भने धेरै मानिसहरू पक्कै पाँचपोखरी यात्रामा निस्कनेछन् भन्ने कुरामा हामी लगभग निश्चित थियौं। त्यसैले टिकट नपाइने हो कि भन्ने डर पनि थियो। टिकट पक्का गर्न म जोरपाटी, नारायणटार पुगें र सुमोमा तीन जना — म, उत्सव र कृपनका लागि सिट सुरक्षित गरें।

अब भने ट्रेकिङ् जाने पक्का भयो। ट्रेकिङको स्वाद र उत्साह कति रमाइलो हुन्छ भन्ने कुरा मैले अघिल्लो वर्षको गोसाइँकुण्ड यात्राबाट नै अनुभव गरिसकेको थिएँ। यही उत्साहले होला, मैले भाइटीकाभन्दा अघिल्लो दिन नै ट्रेकिङ ब्याग प्याक गरेर तयार पारेको थिएँ। हामीले के लाने, के नलाने भनेर पहिले नै लिस्ट बनायौं र ती सामानलाई तीन जनामा बाँडी ब्याग तयार गर्यौं।

जाने दिन बिहान ७ बजे जोरपाटी पुग्नुपर्ने थियो। पठाओ नपाएपछि श्रीमतीले नै त्यहाँ पुर्याइदिनुभयो। सबै यात्रु पर्खंदा केही ढिलो भयो। पाँचपोखरी यात्रामा निस्किएका यात्रुको चाप धेरै थियो। जोरपाटीबाट ७:४५ मा सुमो छिम्तीका लागि अघि बढ्यो। हामी चढेको सुमो धेरै पुरानो थियो र बस्ने सिट निकै असजिलो, साथै ढल्किने भाग भाँचिएको थियो। तर यात्राको रोमाञ्च र बाटोभरि देखिने हरियाली, पाकेर पहेंलो देखिने धानबारीका दृश्यहरूले सबै असजिलो र अफ्ठ्यारो भुलाइदियो।

छिम्तीबाट पाँचपोखरी यात्रा सुरु गर्ने हाम्रो योजना थियो। तर सुमोका अन्य यात्रुहरूले देउरालीसम्म पुगेर त्यहाँबाट यात्रा सुरु गर्दा सहज हुने सुझाव दिएपछि हामीले पनि देउरालीबाटै पैदल यात्रा सुरु गर्ने निधो गर्यौं। देउराली पुग्दा दिउँसोको १:३० बजिसकेको थियो। यहीँबाट पैदल यात्रा सुरु भयो। खोलाको कलकल आवाज, चराहरूको संगीतमय चिरबिर, शीतल हावाको स्पर्श र घाम–छायाँ मिसिएको लेकाली सौन्दर्यले यात्रालाई जीवन्त र रोमाञ्चक बनाइरहेको थियो।

पहिलो दिनको हाम्रो लक्ष्य टाङ्गुखर्क पुगेर बास बस्ने थियो। बिस्तारै प्रकृतिको आनन्द लिँदै साँझ करिब ५ बजे केही थकान महसुस गर्दै टाङ्गुखर्क पुग्यौं। त्यस दिन करिब ३/४ सय यात्रु पाँचपोखरीतर्फ गएको अनुमान थियो। हामीलाई डर थियो — आरामदायी कोठा पाइन्छ कि पाइँदैन भनेर। तर भाग्यवश हामीले टाङ्गुखर्कमा एउटा कोठा पायौं।

त्यहाँ बिजुली र मोबाइल नेटवर्क दुवै थिएन। बल्लबल्ल नेटवर्क खोजेर घरमा बास बस्ने ठाउँ आइपुगेको खबर गर्यौं। हामी तीनै जनाको मोबाइलको चार्ज सकिन लागेको थियो। साँझ ७ बजे जेनेरेटर चलाएपछि बिजुली बल्यो र मोबाइल, टर्च, पावरबैंक सबै चार्ज गर्यौं।

खानामा दाल–भात र गोलभेडाको अचार थियो। चिसो मौसममा खाना झन् स्वादिलो लाग्यो। मैले बोकेर आएको इलामको घिउ र कागतीको अचारले त खाने स्वाद नै फरक बनायो। तातो दाल–भातले थकान कम भएको महसुस भयो।

भोलिपल्ट बिहान सबेरै उठेर ५ बजे हिँड्ने योजना थियो, तर बिहान शौचालयमा लामो लाइन बसाइँका कारण पाँचपोखरीतर्फको यात्रा ५:४५ मा मात्र सुरु गर्न सक्यौं। मकैको सातु साथमा लगिएका थियौं। हामीले मनतातो पानीमा सातु हालेर खायौं र दोस्रो दिनको यात्रा सुरु गर्यौं।

उकाली–ओराली काट्दै, झोलुङ्गे पुल तर्दै, रातमाटे हुँदै हामी नस्यामपाटी पुग्यौं। त्यहाँ पुग्दा बिहान करिब १० बजिसकेको थियो। त्यहाँ खाना खाई, थकाइ मेटाई फेरि यात्रातर्फ लाग्यौं। उचाइ ३२०० मिटर काटिसकेको थियो। बाटोमा पानीका श्रोत नभएकाले ‘पानी बोकेर जानुहोस् है’ भनेर सबैले सुझाएपछि हामीले ३–४ लिटर पानी बोकेर अघि बढ्यौं।

जति अगाडि बढ्यौं, त्यति नै शरीरमा थकान बढ्दै गइरहेको थियो। बिस्तारै उचाइका कारण अलिअलि लेक लागेको महसुस हुँदै थियो, तर मनले भने गन्तव्यसम्म पुग्ने अठोटमा हरेक कदममा उत्साह जगाइरहेको थियो।

चट्टानसहितको भिरमा पदयात्राका लागि बनाइएको बाटो हुँदै हामी लौरीबिना भन्ने ठाउँमा पुग्यौं। त्यहाँ पुग्दा बोकेको पानी सकिसकेको थियो। तर त्यहाँका रातोघरका मनकारी दाइहरूले सबै पदयात्रीलाई पानी खुवाउनुभयो, जसले निकै राहत दियो।

लौरीबिनाको उकालो छिचोलेर साँझ करिब ५ बजेतिर हामी पाँचपोखरी पुग्यौं। माथि कठ्याङ्ग्रिने चिसो थियो। यात्रुको अत्यधिक चाप थियो — बास नपाइने पो हो कि भन्ने डर पनि थियो। तर भाग्यले साथ दियो; एउटा होटेलमा भुइँमा सुत्ने व्यवस्था मिलायौं। ब्याग त्यहाँ बिसाएर खाजा खाई पाँचपोखरी वरिपरिका दृश्यावलोकनका लागि निस्क्यौं। दुई घण्टा पोखरी वरिपरि बिताएर होटल फर्कियौं, खाना खायौं र केही बेर आगो तापेर सुत्यौं।

राति अचानक तापक्रम घट्दा धेरैलाई लेक लागेर सास फेर्न गाह्रो भयो। कोहीले टिम्मुर, कोहीले लसुन खाएर आराम पाउने प्रयास गरे। हल्लाखल्लाले हामी पनि ब्यूँझियौं र राति १ बजेदेखि फेरि निदाउनै सकेनौं।

बिहान ४ बजे उठी नित्यकर्म सकेर ५ बजे सूर्योदय हेर्न होटलबाट भ्यूपोइन्टतर्फ लाग्यौं। आकाश एकदमै खुला थियो। माथि पुगेर केहीबेर बसेपछि बिहान ६:१० मा घाम उदायो। हिमालयन श्रृङ्खलामा झुल्किएको सुनौलो किरण एकदमै सुन्दर देखिन्थ्यो। त्यो क्षण, त्यो दृश्य शब्दमा अवर्णनीय थियो। शरीरको थकान, कठिन उकालो, कठ्याङ्ग्रिने चिसो — सबै कुरा त्यही सुन्दर क्षणले बिर्सायो।

भ्यूपोइन्टबाट देखिने पाँचै पोखरी सिङ्गो प्रकृतिको अनुपम नमुना जस्तो लाग्दै थियो। सहकर्मी मित्र कृपन कुशल कलाकार भएकाले हरेक दृश्य स्केचमा उतारिरहनु भएको थियो। भ्यूपोइन्टमा करिब दुई/तीन घण्टा बिताएर हामी होटल फर्कियौं।

त्यहाँ चनाको तरकारी र चिया खाई ओरालो लाग्यौं। तेस्रो दिनको करिब आठ घण्टे यात्रा तय गरेर हामी टुप्पीडाँडामा पुग्यौं र बास बस्यौं। त्यहाँबाट भोलिपल्ट बिहान सबेरै उठी देउराली झर्यौं। देउरालीमा खाना खाई काठमाडौँ फर्कियौं।

तीन रात चार दिनको यात्रा तय गरेर घर फर्किँदा छुट्टै आनन्द महसुस भयो। यात्राको मूल्य केवल गन्तव्यमा पुग्नुभन्दा पनि यात्राभरि मनमा गढेका सुन्दर र रोमाञ्चक स्मृतिहरूमा हुने रहेछ। सबैलाई जीवनमा एकपटक पाँचपोखरी भ्रमण गर्न अनुरोध गर्दछु।

भूषण मणि गौतम, सूर्योदय नगरपालिका, इलाम

        

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको