काठमाडौं — शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै पुगेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाट आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।
निवेदनअनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए। पक्राउपछि सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको अवस्थामा गृहमन्त्रीको नेतृत्वमा आएको टोली हिरासत कक्षभित्र प्रवेश गरेको आरोप लगाइएको छ।
उजुरीमा हिरासतभित्र मानसिक दबाब, गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको दाबी गरिएको छ। साथै, आयोगको विशेष टोलीमार्फत घटनाको छानबिन, सीसीटीभी फुटेज र आगन्तुक अभिलेख सुरक्षित गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ।
उजुरीकर्ताले पदको दुरुपयोग गरी मानव अधिकार उल्लंघन भएको भन्दै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही र अनधिकृत प्रवेश गराउन सहयोग गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाहीको माग गरेका छन्।
हालसम्म यी आरोपबारे गृहमन्त्री वा सम्बन्धित सरकारी निकायको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको उल्लेख गरिएको छैन।


