ललितपुर – उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न स्थानमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजा आराधना गरेका छन्।
छठ पर्वको तेस्रो दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्वको समापन गरेका हुन्।
सूर्यदेव र छठी माताको पूजा आराधना गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ।
विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पनि श्रद्धा र भक्तिपूर्वक मनाउन थालिएको छ।

