पूर्वी नेपालको पहाडी भूभागमा फैलिएको मुन्धुम पदमार्ग केवल पदयात्रा मार्ग मात्र होइन — यो किराँत सभ्यता, संस्कृति र प्रकृतिको अनौठो संगम हो। यहाँ पुग्दा केवल हरियाली र हिमाल मात्र होइन, किराँत समुदायको पुरातन जीवनशैली, विश्वास र सभ्यताको गहिरो अनुभूति गर्न सकिन्छ। नेपाल सरकारद्वारा सन् २०१८ मा ‘घुम्नैपर्ने १ सय गन्तव्य’ मध्ये सूचीकृत भएपछि यो मार्ग आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै आएको छ।

प्रारम्भ : चखेवा भन्ज्याङसम्मको यात्रा
मुन्धुम पदमार्ग खोटाङको सोकला गाउँपालिकाको तावा भन्ज्याङबाट सुरु भई भोजपुरको टेम्केडाँडा, चखेवा भन्ज्याङ, धोत्रे, हाँसपोखरी, जुके, याकुले लैरे, रावाधाप, साल्पापोखरी हुँदै सिलीचोङ चुचुरासम्म पुग्छ।

दशैंको विदामा लामो योजना अन्ततः पूरा गर्ने निर्णय भयो। मेरो लागि यो पहिलो मुन्धुम यात्रा भएकाले भोजपुर निवासी स्थानीय पत्रकार तथा अनुभवी गाइड प्रवीण कुलुङ राई र उनका साथीहरू साथमा थिए। हामी काठमाडौँबाट मोटरसाइकलमा बिहानै मिरमिरे उज्यालोमा यात्रा सुरु गर्यौं। दशैंको भीड र जामबीच बाटो–बाटोमा विश्राम गर्दै साँझ चखेवा पुग्दा आकाशमा तारा टल्किन थालेका थिए। उकालो बाटोमा केही हिलोले रोकिए पनि पहिलो दिनको यात्रा रमाइलो रह्यो।
दोस्रो दिन : गुरुङ गोठदेखि बलौटे भन्ज्याङ
भोलिपल्ट बिहान सुर्योदयका साथै चखेवा भन्ज्याङको डाँडाबाट देखिएको सुनौलो आकाश र हरियाली डाँडाहरू मनमोहक थिए। स्थानीय पर्यटकहरू पनि फोटो र टिकटक बनाउँदै व्यस्त देखिन्थे। बिहानको नास्ता पछि हामी उकालो लाग्यौं । बाटोमा कहिले बाक्लो हुस्सु, कहिले झरनाको संगीत—हाम्रो साथ थियो। बिस्तारै पानी परेपछि रेनकोट लगाएर यात्रा अघि बढ्यौं । साँझ पर्दा ‘गुरुङ गोठ स्टे’मा पुगेका थियौं । गोठको आगो ताप्दै स्थानीय परिकार र तातो दुधको स्वादले थकान हरायो।

अर्को बिहान धोत्रेमा चिया–नास्ता खाएपछि मैयुङ भन्ज्याङतर्फ लाग्यौं। चरिरहेका भेडीबाख्रा, बादलले ढाकेका डाँडाहरू र हरियालीले यात्रा झनै रमणीय बनाइरहेको थियो। दिउँसो हल्का पानी परे पनि हाँसपोखरी र वरिपरिका डाँडाहरूको दृश्यले सबै थकान भुलायो। साँझ बलौटे भन्ज्याङ पुग्दा आकाश रातो रङमा रंगिएको थियो। त्यहाँ साम्पाङ कान्छा राईको गोठमा बास बस्यौं । गोठको आगो वरिपरि बस्दै हामीले गाउँको जीवनशैली, चौरीपालन र बढ्दो पर्यटनबारे कुरा गर्यौं ।
तेस्रो दिन : लाउरे डाँडा हुँदै साल्पा पोखरी
बिहान सबेरै उठेर तातो दुध र चिया पिएपछि ५:४५ बजे यात्रा सुरु गर्यौं। साम्पाङ दाइ आफैं केही सामान बोकेर लाउरे डाँडा पार गरिदिने भए। चिसो हावामा गोठ वरिपरि उडिरहेको धुवाँ र हरियाली डाँडाको दृश्यले ग्रामिण सौन्दर्य झल्काउँथ्यो।

पाँच घण्टाको उकालोपछि लाउरे डाँडा पार गर्यौं। माथिल्लो भागमा अब चौरी र भेडाहरू बेसीतिर झरेका कारण गोठहरू सुनसान थिए। दिउँसो पोर्टेबल ग्यासमा चाउचाउ पकाएर खायौं र सांझतिर साल्पा पोखरी नजिकको माबु पुगेका थियौं। प्रवीण सरका भाइहरू पनि गाउँबाट सहयोगका लागि आइपुगे । अहिले साल्पा पोखरी वरिपरि नयाँ होमस्टेहरू खुलेका छन् । त्यो रात हामी त्यहीँ बस्यौं, किनभने भोलिपल्ट बिहानै सिलीचोङ चुचुरो पुग्नुपर्ने थियो।
चौथो दिन : सिलीचोङ टप — हिमालसँगको साक्षात्कार
बिहान ३:३० बजे मोबाइलको अलार्म बज्यो। तातो पानी र हल्का खाजापछि हामी टर्च र हेडलाइटको उज्यालोमा सिलीचोङ टपतर्फ लाग्यौं । आकाश ताराहरूले भरिएको थियो । उकालो ठाडो भए पनि हिमालको झल्को पाउने आशाले ऊर्जा थपेको थियो।

सूर्य उदाउन लाग्दा हामी सिलीचोङ नजिकै पुगिसकेका थियौं । त्यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, लोत्से र चो–यु लगायतका ८,००० मिटर माथिका पाँच शिखरहरू स्पष्ट देखिन्थे। वरिपरि बाक्लो हुस्सु बीच हिमालहरू एकछिन देखिन्थे, फेरि हराउँथे—जस्तो सपना र यथार्थको सीमारेखा होस्। हामीले फोटो, भिडियो र केही समूह तस्बिर खिच्यौं। त्यस क्षणमा सम्पूर्ण थकान हरायो।

ओरालो झर्दा केही घण्टामै साल्पा पोखरी पुगेका थियौं। पोखरीको हरियाली र शान्त वातावरणले मन मोहित बनायो। स्थानीय होटेलमा खाना खाएर सामान प्याक गर्यौं । हाम्रो सिलीचोङ यात्रा त्यहीँ समाप्त भयो। त्यसपछि हामी फेदी हुँदै भोजपुरतिर झर्यौं । केही दिनको वर्षाले सिन्धुलीको बाटो अवरुद्ध गरे पनि अन्ततः बाटो खुलेपछि काठमाडौँ फर्कियौं ।
यात्राको अनुभूति
मुन्धुम पदमार्ग अपेक्षा भन्दा व्यवस्थित र सुन्दर अनुभव रह्यो। बाटोमा ढुंगाका परम्परागत बिसौनी, फोहोर व्यवस्थापनका ठाउँहरू र विश्राम स्थलहरू राम्रोसँग तयार गरिएको देखियो। स्थानीय समुदायको आतिथ्य, संस्कृति र सरल जीवनशैलीले यो यात्रा अझ अर्थपूर्ण बनायो।
काठमाडौँबाट छोटो समयमा नै संस्कृति, सभ्यता र प्रकृतिको संगम अनुभव गर्न चाहनेका लागि मुन्धुम पदमार्ग निश्चय नै उत्कृष्ट विकल्प बन्न सक्छ।












