जनकपुर – जिल्ला प्रशासन कार्यालय धनुषाले पोखरीमा पसेर छठ पर्व नमाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सो आग्रह गरेको हो । हिन्दु धर्मावलम्बीहरुको महान पर्व दीपावली र छठमा देउसी–भैलो तथा जुवा तास खेल्न र पानीमा पसेर पुजाआजा नगर्न प्रशासनले आग्रह गरेको छ ।
कोभिड–१९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको वैठकले दिपावली र छठ पर्वमा देउसी-भैलो तथा जुवातास नखेल्न, खोलानदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउनुपर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रशासनले उक्त निर्णय विपरित कुनै पनि कार्य नगर्न र नगराउन जिल्लावासीलाई आग्रह समेत गरेको छ ।प्रशासनले जारीको निर्देशन विपरित कसैले गरे गराएमा व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक संघ र संस्थाका पदाधिकारीहरुलाई समेत संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले चेतावनी दिएका छन् ।

