रामेछाप – रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५ देखि २७ गतेसम्म तीन दिन महोत्सव सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाले बिहीबार काठमाडौँको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । सुनापति–४ स्थित धार्मिक तथा पर्यटकीयस्थल सुनापति डाँडामा आयोजना हुने महोत्सवमा करिब १५ हजार दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
महोत्सव सञ्चालनका लागि करिब एक करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । महोत्सवमा धार्मिक, सांस्कृतिक, ग्रामीण तथा कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा सुनापति डाँडामा रहेको १०८ लहरेमानेको धार्मिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजना रहेको छ । यसका साथै गाउँपालिकाभित्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकीयस्थलको प्रचारप्रसार गरिनेछ ।
महोत्सवमा स्थानीय कृषि उपज, फलफूल, तरकारी, खाद्यान्न, स्थानीय परिकार, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बजारीकरण गरिनेछ । स्थानीय किसान, महिला समूह, सहकारी, घरेलु उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, तामाङ समुदायको मौलिक संस्कृति, डम्फु, टुङ्ना, स्थानीय नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । कला, साहित्य, सिर्जना तथा खेलकुदसम्बन्धी गतिविधिसमेत महोत्सवमा समावेश गरिने आयोजकले जनाएको छ ।
गाउँपालिकाले सुनापतिको पर्यटन विकासमा निजी क्षेत्र तथा लगानीकर्तालाई समेत सहभागी गराउने लक्ष्य राखेको छ । होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, पर्यटन सेवा तथा अन्य पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने योजना रहेको छ ।
महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना, स्वरोजगारका अवसर वृद्धि तथा जैविक विविधता र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले सुनापतिको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ग्रामीण पर्यटनको सम्भावनालाई एकीकृत गर्दै दीर्घकालीन पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

