ललितपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहमा मन्तव्य राख्दै उहाँले कर्मचारीतन्त्रमा सुधार गरी निजामती सेवाप्रतिको नागरिकको गुमेको विश्वास पुनःस्थापित गर्नुपर्ने बताउनुभयो ।
मन्त्री रावलले कर्मचारीहरू आफूलाई खटाइएको कार्यस्थलमा जान नमान्ने र काठमाडौं उपत्यका छोड्न नचाहने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माण प्रभावित भएको उल्लेख गर्नुभयो । आगामी निजामती कर्मचारी ऐनमार्फत यस्ता समस्या समाधान गर्ने व्यवस्था गरिने उहाँको भनाइ थियो ।
“कर्मचारीले आफूलाई खटाएको ठाउँमा जानुपर्छ । सरुवा हुँदा राजनीतिक नेतृत्व वा मन्त्रीको पहुँच खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । कर्मचारीले आफ्नो वृत्ति विकासका लागि राजनीतिक व्यक्तिलाई चिन्नुपर्ने अवस्था हामी अन्त्य गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो ।
उहाँले निजामती सेवामा देखिएका विकृति हटाउने उद्देश्यले सरकारले संसद्मा विधेयक दर्ता गरिसकेको र संसद् सुचारु हुनासाथ छलफलमा आउने जानकारी दिनुभयो ।
कानुनविपरीतका काम गर्न राजनीतिक नेतृत्वबाट दबाब आए कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले कानुनसम्मत काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री रावलले सार्वजनिक सेवामा सामान्य कामसमेत सम्पन्न गर्न सेवाग्राहीले दिनौँ कुर्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । छिटो, छरितो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्नु कर्मचारीको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो ।
कर्मचारीतन्त्रमा परिवर्तन स्वीकार गर्न नसक्ने प्रवृत्ति सुधारको बाधक रहेको उल्लेख गर्दै उहाँले नयाँ सोच, प्रविधि र नवीन योजनाका साथ काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
“राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुनविपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनलगायत पछिल्ला घटनाबाट राज्यका सबै निकायले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
निजामती सेवामा प्रवेश गर्ने नयाँ पुस्ताका कर्मचारीलाई परम्परागत गलत अभ्यास त्याग्न आग्रह गर्दै उहाँले प्रशासनिक सुधार उच्च तहबाटै सुरु हुनुपर्ने धारणा राख्नुभयो । नयाँ कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारी अवकाश लिने बेलासम्म कायम राख्नुपर्ने उहाँको सुझाव थियो ।
