काठमाडौं – नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ ।
श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले उक्त अभ्यासको शुभारम्भ गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

दुवै देशका गणस्तरका सैनिक फौज सहभागी रहेको उक्त अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ । विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकले सैद्धान्तिक र व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नेछन् ।
यस किसिमको संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको व्यावसायिक क्षमता, ज्ञान र आपसी समझदारी अभिवृद्धि गर्न सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।


