काठमाडौँ – बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।
कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ।
आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ ।
बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यस्तै यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।
