अष्ट्रेलियाले भारतसंगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो ओडिआई खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको हो ।
जितका लागि ३ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो । कोहलीले ८७ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
विकेटकिपर लोकेश राहुल तल्लोक्रममा ६६ बलमा ४ चौका र ५ छक्का सहित ७६ रनमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ३१ बलमा १ चौका र १ छक्का सहित २८ रनमा स्टिभ स्मिथबाट क्याच आउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र मोइसेस हेनरिक्सले एक एक विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए । ओडिआई इतिहासमा दोस्रो पटक शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् । ग्लेन म्याक्सवेल २९ बलमा ४ चौका र ४ छक्का सहित ६३ रनमा अविजित रहे ।
स्टिभ स्मिथले ६४ बलमा १४ चौका र २ छक्का सहित सर्वाधिक १ सय ४ रनको शतकीय इनिङको योगदान दिए । भारतविरुद्ध स्मिथको यो लगातार तेस्रो शतक हो । स्मिथ पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।
स्मिथ जारी सिजनको दुैब खेलमा ६२ बलमा शतक पूरा गरे । ओपनर आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि २२.५ ओभरमा १ सय ४२ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए थिए । फिन्चले ६९ बलमा ६ चौका र १ छक्का सहित ६० रन जोडे । डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्का सहित ८३ रनको योगदान दिए ।
तेस्रो विकेटका लागि स्मिथ र मार्नस लाबुसेनले ९५ बलमा १ सय ३६ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । मार्नस लाबुसेन ६१ बलमा ५ चौका चौका सहित ७० रनको योगदान दिए । चौथो विकेटका लागि लाबुसेन र म्याक्सवेलले ८५ बलमा ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । लाबुसेनलाई ४९ औं ओभरको पाँचौ बलमा जस्प्रित बुमराहले मयंक अग्रवालबाट मिडअफमा क्याच आउट गराएका थिए ।
भारतका जस्प्रित बुमराहले १० ओभरमा १ मेडन सहित ७९ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार मनुका ओवल क्यानवेरामा हुँने छ । अन्तिम खेलमा अस्ट्रेलिया क्लिनस्विप गर्ने सोचमा हुनेछ ।
