अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टि – २० मा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको टि- २० शृंखला भारतको पक्षमा २–१ रह्यो ।
सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो । त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए ।
यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे । जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।
भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।
अष्ट्रेलिया जितमा स्पिनर मिचेल स्वीपसनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर एन्ड्रयु टाईले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । स्पिनर एडम जाम्पा, ग्लेन म्याक्सवेल र सन एबटले एक एक विकेट लिए ।
