काठमाडौं – बिमा समितिले कोरोना बिमा दाबी भुक्तानीका लागि केही समय धैर्य गर्न बीमितलाई आग्रह गरेको छ । समितिले बिहीबार विज्ञप्ती जारी गर्दै पछिल्लो समय कोरोना संक्रमण भएको र उक्त अवधिको दाबी भुक्तानीका लागि चाप पर्न गएकाले दाबी भुक्तानीमा समस्या परिरहेको जनाएको छ । चाप कम भएपछि नियमित रुपमा भुक्तानी प्रक्रिया अघि बढ्ने पनि समितिको भनाइ छ ।
समितिका अनुसार दाबी भुक्तानीका लागि कोरोना बिमाको दायित्व बिमा समिति र नेपाल सरकारको समेत भएकाले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने हुँदा पनि केही विलम्ब हुने गर्छ । कोरोना बिमा मापदण्ड अनुसार कतिपय स्पष्ट नभएको कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेसनका लागि पठाउनुपर्ने हुन्छ ।
समितिले सहि कागजात भएका बीमितहरुले सजिलै भुक्तानी पाउनेमा विश्वास दिलाएको छ । एउटै दाबी विभिन्न बिमा कम्पनीहरुबाट छुट्टाछुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बिमा दाबीहरु दोहोरो पर्ने भएकाले पनि भरिफिकेसन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लाग्न गएको भनिएको छ ।

