काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (शनिबार) उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल ९ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् ।
चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ ।
फाइनलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए । एपीएफ यो सिजनको प्रतियोगितामा अपराजित टोली हो ।
सेमिफाइनलमा विभागीय टोली एपीएफ नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले फाइनमा स्थान बनाएको थियो । यता, आर्मीले भने सेमिफाइनलमा वाग्मती प्रदेशलाई पाराजित गरेको थियो । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारी दुवै उपाधि जित्नेमा आफूलाई विश्वस्त राख्दछन् । आर्मीका कप्तान विनोदले चौथोपटक उपाधिका लागि फाइनलमा मैदान प्रवेश गर्दा आफूहरूको नजर उपाधिमा रहेको बताए ।
यता एपीएफका कप्तान शरद भेषावकरले पनि आफूहरूले सकेसम्म राम्रो प्रदर्शन गर्ने बताए । उपाधिका लागिभन्दा पनि खेल कुन तरिकाले गर्दा राम्रो बनाउन सकिन्छ भन्ने कुरा आफूहरूको पहिलो प्रथामिकताको विषय रहेको बताए ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै उपविजेता टोलीले पाँच लाख पाउनेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।
