बिहीबार नेपाली बजारमा सुन र चाँदीको भाउ ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ ९९ हजार पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १३५५ रुपैयाँमा कारोबार भइरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ।
