काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढेको छ । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका हुन् ।
गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबार फेरि बढेको हो ।
शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । सोमबार २८० बाट ९० पुगेको र शुक्रबार ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको संघका सचिव देवकुमार गिरीले बताए । उनका अनुसार अहिले बजारमा ब्रोइलर कुखुराको उत्पादन कम छ ।
कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । संघकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।
दाना महँगो हुँदा किसान पेशाबाट पलायन भएका र बजारमा कुखुरा उत्पादन कम भएपछि मूल्य बढेको हो । रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको छ भने प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएसँगै किसानहरु पलायन भएका छन् ।
