नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो ।
तर, यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
