अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १ हजार रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले मात्र घट्दै आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ ।
सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
