सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।
निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।
१५ प्रतिशत तलब बढ्दा मुख्यसचिव हाल खाइरहेको तलब ६७,१४० रुपैयाँ रहेको छ भने अब ७७,२११ पुगेको छ। त्यस्तै सचिवको हाल पाइरहेको तलब ६२,६८० अब ७२,०५२ पाउने छन्।
त्यस्तै सह-सचिवले हाल पाइरहेको तलब ४९,३८० अब ५६,७८७ पाउने, उपसचिवले हाल पाइरहेको तलब ४२,३८० अब पाउने ४८,७३७, शाखा अधिकृतले हाल पाइरहेको तलब ३७,९९० अब ४३,६८९ पाउने, नायब सुब्बाले हाल पाइरहेको तलब ३०,२०० अब पाउने ३४,७३०, खरिदारले हाल पाइरहेको तलब २८,६०१ अब पाउने ३२,९०२ र मुखियाले हाल पाइरहेको तलब २४,०१० अब २७,६१२ पाउनेछन।
बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने, ‘निजामती सेवाका कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्र सेवकलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन विक्रम संवत् २०७९ साउन १ गतेदेखि लागू हुने गरी तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु । हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको छु ।’
यस्तै सरकारले निजामती कर्मचारी र श्रमिकको तलब सुविधा पुनरावलोकन गर्न एक उच्चस्तरीय आयोग पनि गठन गर्ने भएको छ । अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै भने, ‘राष्ट्रसेवक कर्मचारीको न्यूनत्तम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकको तलब सुविधा अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिनेछ ।’
गत वर्ष पनि सरकारले महंगी भत्तालाई यसअघिकैलाई निरन्तरता दिने भनेको थियो । बजेटमार्फत नै निजामती कर्मचारीको सेवा सुविधालाई दक्षिण एसियाका अन्य मुलुकसँग तादात्म्यता कायम गर्न तलबमान सम्बन्धमा अध्ययन गरी सुझाव दिन विशेषज्ञ सम्मिलित अध्ययन गर्न समिति गठन गर्ने पनि घोषणा गरिएको थियो ।
त्यस्तै सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय सदनका दुवै संसदको बैठकमा पेश गर्ने क्रममा यस्तो बताएका हुन्।
त्यस्तै सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ। यसअघि यो लोककल्याणकारी विज्ञापन छापामाध्यम, रेडियो र टेलिभिजनहरुलाई मात्रै दिइने गरिएको थियो।
त्यस्तै सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइने बताएका छन् ।
सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ । सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लामा यस्तो सुविधा दिएको हो ।
