किन बढिरहेको छ कुखुराको मासुको भाउ ? यस्ता छन् तीन कारण

काठमाडौं – गत वर्षको तुलनामा यो वर्ष कुखुराको मासुको भाउ निकै बढेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। एक हप्ताअघिसम्म काठमाण्डू उपत्यकामा खुद्रा मूल्य प्रतिकिलो ४५० रुपैयाँ पुगेको कुखुराको मासु अहिले थोकमा चाहिँ झन्डै ४०० रुपैयाँमा झरेको छ।

कुखुराको मासुमा लगभग आत्मनिर्भर भइसकेको भनिएको नेपालमा त्यसको मूल्य किन यसरी बढ्न थालेको हो त ? हामीले कुखुरापालक किसानदेखि, दाना उत्पादक तथा मासु विक्री गर्ने व्यापारीसम्मका व्यक्तिहरूसँग त्यसका कारण खोतल्ने प्रयास गरेका छौँ।

कुखुरापालक के भन्छन् ?
पछिल्लो समय उत्पादन लागतमा भएको वृद्धिका कारण कुखुराको मासुको भाउ बढेको उत्पादकहरूले बताएका छन्। अहिले भाउ बढ्नुका मुख्य तीनवटा कारण देखिएको नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन्।

‘दानाका लागि चाहिने कच्चा पदार्थको भाउ बढेर दानाको मूल्य बढ्नु, मासु बेच्नेहरूले क्रय र विक्रय मूल्यबीच धेरै अन्तर राख्नु र केही समयअघि बर्डफ्लूको हल्लाका कारण कतिपय किसानले चल्ला नराख्दा माग जति उत्पादन नहुनु हो,’उनले भने ।

‘कुखुरापालक किसानलाई जस्तो मासुलाई जोखिम (चल्ला मर्नेदेखि कुखुरालाई रोगव्याधि लाग्नेसम्म) पनि छैन, तर मार्जिन पनि बढी राख्छन्,’ उनले थपे।

एउटा कुखुरा डेढ किलो दानामा तयार हुनुपर्नेमा परम्परागत पालनका कारण दुई किलोभन्दा बढी खर्च हुने गरेको विष्ट बताउँछन्। ‘चल्लाको र दानाको दाम जोड्दा किसानलाई अहिले पनि प्रतिकिलो २५० रुपैयाँ जति लागत पर्न आउँछ,’ उनले थपे।

दाना उत्पादक के भन्छन् ?
कुखुराका दाना उत्पादकहरू सरकारले कच्चा पदार्थको रूपमा चाहिने मकै तथा भटमासको आयातमा शुल्क बढाएको कारण पनि दानाको भाउ बढ्दै गएको बताउँछन्।

नेपाल दाना उद्योगी सङ्घका अध्यक्ष रबिन पुरीका अनुसार तात्कालिक अर्थमन्त्री युवराज खतिवडाको पालामा कृषि सुधार शुल्क बढेपछि मकै, भटमास र पिना आयातमा लाग्ने खर्च बढ्दै गएको हो।

उनका अनुसार कुखुराको दानामा भटमास र पिनाको हिस्सा ८५ प्रतिशतसम्म हुने गर्छ। अहिले फेरि युक्रेन–रुस युद्धका कारण पनि ती कच्चा पदार्थको मूल्य बढेको छ। दानामा भटमासको तेल पनि हाल्छौँ, तेलको भाउ तपाईँलाई थाहै होला, पुरीले भने।

गत वर्षको तुलनामा मकै र भटमासको मूल्यमा ४० प्रतिशतसम्म बढेको छ। गत वर्षको तुलनामा एक बोरा दानाको मूल्य १,३०० रुपैयाँले वृद्धि भएको उनले बताए । गत एक वर्षमा कुखुराको दाना बनाउनका लागि मात्रै नेपालले ३४ अर्ब रुपैयाँ बराबरको मकै र भटमास आयात गरेको उनले बताए।

मासु विक्रेता के भन्छन्
नेपालमा माग र आपूर्तिबीच सन्तुलन बिग्रिँदा पनि बेलाबखत कुखुराको मासुको भाउ निकै बढ्ने गरेको विक्रेताहरू बताउँछन्। ‘कहिलेकाहीँ मागभन्दा पनि बढी उत्पादन भइदिएर भाउ घट्छ भने कहिलेकाहीँ कम उत्पादन भएर भाउ बढ्न जान्छ,’ काठमाण्डू उपत्यकामा कुखुराको मासुको थोक तथा खुद्रा दुवै व्यापार गर्ने भ्याली ग्रूपका हरिकृष्ण रावलले भने।

तर पछिल्लो डेढ सातायता कुखुराको उत्पादन बढेर मूल्य घट्न थालेको उनी बताउँछन्। ‘हाम्रो कुरा भन्नुहुन्छ भने आजको मितिमा प्रतिकिलो ३९१ रुपैयाँमा विक्री गरिरहेका छौँ,’ रावलले भने। यद्यपि खुद्रा मूल्य अझै प्रतिकिलो ४२५ रुपैयाँमा किन्नुपरेको उपभोक्ताले बताएका छन्।

मासु विक्रेताबीच कार्टेलिङका कारण पनि उपभोक्ताले अचाक्ली मूल्य तिर्नुपरेको कतिपयले आरोप लगाउने गरेका छन्। व्यापारीहरूले आफ्नो नाफा बढाउन र प्रतिस्पर्धा सीमित पार्नेगरी वस्तुको मूल्यमा सहमति गर्नुलाई कार्टेलिङ भनिन्छ। तर रावल त्यसमा सहमत छैनन्। ‘पोल्ट्रीमा त्यस्तो हुन्छ भन्ने मलाई चाहिँ लाग्दैन। यसमा आपूर्ति र मागबीच तालमेल नमिल्दा मात्र भाउ बढ्ने गर्छ। बीबीसीबाट

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको