काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का सुरक्षा अधिकृत फेरिएका छन्। प्रचण्डका सुरक्षा अधिकृतको रुपमा प्रहरी नाउव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।
यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।
डीएसपी न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए। प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।
त्यस्तै, नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। विभिन्न मितिमा बढुवा भएका ५७ जना र खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्ह प्रदान गरिएकामा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन्।
कास्कीको माछापुछ्रे गाउँपालिकाका राजेन्द्र प्रसाद अधिकारी र उनका छोरा ध्रुव अधिकारीले सँगै डीएसपीको फूली लगाएका छन्। गत साउन ३ गते फरक फरक समूहबाट उनीहरु डीएसपीमा बढुवा भएका थिए।
राजेन्द्र साधारण समूहतर्फ र ध्रुव प्राविधिक समूहतर्फ डीएसपीमा बढुवाका लागि सिफारिस भएका थिए। उनीहरु २४ वर्षको फरकमा प्रहरीमा भर्ना भएर एकैदिन डिएस्पीमा बढुवा भएर सँगै फूली लगाएका हुन्।
राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा र ध्रुव २०७५ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।
