सिन्धुपाल्चोक – राष्ट्रियरुपमा नै चर्चामा रहेको सिन्धुपाल्चोक– १ मा चुनावको मिति नजिकएसँगै दलहरुबीच घम्साघम्सी बढ्न थालेको छ । प्रतिस्पर्धी दलबीचभन्दा पनि चुनावी गठबन्धन गरेकै दुई दल– नेपाली कांग्रेस र माओवादीका नेताबीच सार्वजनिक स्थलमै घम्साघम्सी हुन थालेपछि कार्यकर्तामा तनाव बढेको छ ।
बाह्रविसे नगरपालिकामा कांग्रेसबाट चुनाव जितेर मेयर भएका बालकृष्ण बस्नेत ‘बने’ र अहिले माओवादीबाट संघीय सांसदका लागि चुनाव लडेका माधव सापकोटा ‘सुबोध’ समूहबीच गएराति बाह्रविसेको होटल चण्डेश्वरीमा हात हालहाल भएको हो ।
आर्थिक विषयको विवाद बढ्दै गएपछि मेयर बस्नेत र सुबोध समूहबीच हालाहाल भएको एक प्रत्यक्षदर्शीले बताए । सुबोध समूहमा प्रदेश ‘ख’मा माओवादीबाटै चुनाव लडेका सरल सहयात्रीका भाइ राजेन्द्र पौडेल, प्रदेशसभा ‘क’की उम्मेदवार मसिना खड्काका आर्थिक विभाग प्रमुख बुद्धराज बस्नेत, स्थानीय तह निर्वाचनमा माओवादीबाट वडाध्यक्षमा चुनाव लडेर हारेका दावा तामाङलगायत थिए ।
दुई समूहबीच झगडा बढ्न थालेपछि उम्मेदवार सापकोटा कोठाभित्र पसेको र होटलमै भएका अरुहरुले झगडा सामसुम पारेको बताइएको छ । माओवादीका नेताहरुले झगडालाई भित्रभित्रै लुकाउन खोजेपनि आक्रोशित कांग्रेस कार्यकर्ता नाम नबताउने शर्तमा सञ्चारकर्मीमाझ आएका थिए ।
केही समयअघि माओवादीका उम्मेदवार सापकोटाकै गाउँ कुविण्डेमा पनि कांग्रेस–माओवादी कार्यकर्ताबीच झगडा भएको थियो ।
आफ्ना नेता मोहनबहादुर बस्नेतलाई जिल्लाकै दुई नम्बर क्षेत्रबाट चुनाव लड्न बाध्य पारेपछि यस क्षेत्रका कांग्रेस कार्यकर्ता रिसाएका छन् ।
