चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बोलाइएको छ । आज बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतपेटिका बुझिसकेको र अब सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने जनाएको छ ।
‘बिहान ८ बजे बैठक बोलाइएको छ । त्यसपछि गणना सुरु हुन्छ’, प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले भने ।
चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार छन् । यहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल पनि प्रतिस्पर्धामा छन् ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।
सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।
सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए ।
सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
