तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
पौडेल ५ हजार तीन सय ७५ मतान्तरले विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ। यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर पराजित भए। तनहुँ १ मा ६८१५८ मत खसेको थियो।
पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए।
२००१ मा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारमा जन्मिएका पौडेल राजा महेन्द्रले बिपीको निर्वाचित सरकारलाई हटाएर पञ्चायती व्यवस्था लागू गरेदेखि कांग्रेसको राजनीतिमा लागे ।
राजनीति थाल्दा उनी १७ वर्षका मात्रै थिए । ०२७ मा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य रहेका पौडेल ०४० देखि केन्द्रीय राजनीतिमा छाए । त्यतिवेला केन्द्रीय प्रचार समिति संयोजक थिए ।
पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका वेला ०४४ मा कांग्रेस केन्द्रीय सदस्य भएका पौडेल ०४८ मा तनहुँ १ बाट निर्वाचित भए । र, गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भए । ०५१ को मध्यावधि निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भएका उनी त्यसपछि प्रतिनिधिसभामा सभामुख भए । ०५६ मा पौडेल तनहुँ २ बाट निर्वाचित भए ।
कांग्रेसले बहुमत ल्याएर जेठमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पहिलो रोजाइमै नपरे पनि फागुनमा मन्त्री हेरफेर हुँदा उपप्रधान एवं शिक्षामन्त्री भए । त्यसपछि भट्टराईलाई हटाएर गिरिजा प्रधानमन्त्री हुँदा पौडेलले उपप्रधानमन्त्री र स्थानीय विकासमन्त्री पाए । त्यही वर्ष मन्त्रिपरिषद्मा फेरबदल हुँदा उपप्रधानसँगै गृहमन्त्रीको जिम्मेवारी पाए । त्यतिवेला स्थानीय विकास मन्त्रालय जोशीलाई दिएर उनले सम्हालेको गृह मन्त्रालय पौडेललाई दिइएको थियो ।
०६४ मै पार्टी उपसभापति भएका उनी ०७२ माघमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि कार्यवाहक सभापति भएका थिए । ०७२ मा १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका पौडेल गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित हुन पुगे ।
त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका उनी अध्ययनशील नेता मानिन्छन् ।
