प्रतिनिधिसभा समानुपातिकतर्फ मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि नेकपा माओवादी केन्द्रलाई उछिनेको छ। सुरुमा आफूभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि माओवादी केन्द्रले समानुपातिक मतमा उछिनेको थियो। तर अहिले फेरि स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई पछि पारेको हो।
आज बिहान ६ बजेर २७ मिनेट जाँदा निर्वाचन आयोगले राखेको तथ्यांकमा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार ७६ मतका साथ माओवादी केन्द्रभन्दा अघि लागेको हो। माओवादी केन्द्रले भने १० लाख ५१ हजार १ सय ४३ मत ल्याएको आयोगको तथ्यांक छ।
अहिलेसम्म ९२ लाख २७ हजार ५४ समानुपातिक मतको गणना सकिएको आयोगले जनाएको छ। सुरुदेखि नै पहिलो एमालेले अहिलेसम्म २५ लाख १६ हजार ५ सय ९२ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८५ हजार १ सय ३ मत पाएको छ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४४ हजार १ सय ४८ समानुपातिक मत ल्याएको छ भने छैटौं स्थानमा जनता समाजवादी पार्टी (जसपा) ३ लाख १७ हजार ४४ मत प्राप्त गरेको छ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेको राजनीतिक पार्टीले समानुपातिक मत कूल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएमा राष्ट्रिय दलको मान्यता पाउँछन्।
कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ।
यस हिसाबले सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन जान्छ। यसको ३ प्रतिशत थ्रेस होल्ड ३ लाख २० हजार हुन्छ। अहिलेलाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले ३ लाख २० हजार मत कटाएमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।
यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
यसबाहेकका दलले भने थ्रेसहोल्ड (३ लाख २० हजार मत) कटाएका छैनन्। अहिलेसम्म ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।
