नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निरन्तर सत्तामा रहेको कारण चुनावी परिणाममा असर परेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले पार्टी निरन्तर सत्तामा रहेका कारण जनमत घटेको बताएका हुन्। नेता यादवले गठबन्धनकोतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने स्थिति रहेको बताएका छन्।
‘अहिले पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्ने स्थिति छ। कसैको काँधमा पनि चढ्नुपर्दैन। ओलीको नेतृत्व रहेसम्म एमालेको सहयोग लिनुहुँदैन,’ उनले भने।
एमालेको अफर अवसरवादी रहेको यादवले बताएका छन्।२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले हाल १७ सिट जितेको छ।
यसपटक माओवादी मधेस र सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन। पदाधिकारी बैठकमा माओवादी केन्द्रले चुनावी परिणामबारे पनि समीक्षा गर्दैछ।
त्यस्तै, यादवले अहिले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुने बताएका छन्।
पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘यदि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ। किनभने उहाँमा गतिशीलता छ। सबैसँग डिल गर्न सक्ने क्षमता छ।’
यादवले प्रचण्ड प्रधानमन्त्री बन्ने परिस्थिति छैन भनेर भन्न नमिल्ने बताए। ‘परिस्थिति त कहिलेकाहीँ जे पनि हुन्छ’, उनले भने, ‘परिस्थिति छैन भन्न मिल्दैन। कहिलेकाहीँ नसोचेको कुरा पनि हुने गरेको छ।’
उनले विगतमा राप्रपाका लोकेन्द्रबहादुर चन्द एमालेको काँधमा चढेर, कांग्रेसको काँधमा चढेर सूर्यबहादुर थापा पनि प्रधानमन्त्री बनेको भन्दै अहिले आफूहरुको ‘अलायन्स’ भएकाले प्रधानमन्त्री बन्नका लागि कसैको पनि काँधमा चढ्नु नपर्ने बताए।
एमालेको प्रधानमन्त्रीको अफर सम्बन्धमा राखिएको जिज्ञासामा उनले ‘अवसरवादी’को प्रतिक्रिया दिए। ‘एमालेको अफर अवसरवादी अफर हो। एमालेसँग गएर देशको कल्याण हुन्छ भन्ने मलाई लाग्दैन। ओलीको नेतृत्व रहुञ्जेलसम्म एमालेसँग जानु राम्रो हुँदैन’, उनले भने।
