काठमाडौं – मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा (एमाले) पहिलो दल बनेको छ । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ ।
एक करोड चार लाख २० हजार १२५ सदर मत गणना हुँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको छ ।
एघार लाख ६२ हजार १२४ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ ।
यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ । नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ ।
पछिल्ला तीन दिनमा नेकपा (एकीकृत समाजवादी)को एकहजार ७६४ मत मात्र बढेको छ । गएको बिहीबार बिहानसम्म उसको मत दुई लाख ९२ हजार ५९८ थियो ।
निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय मान्यता प्राप्त दल बनेका छन् ।
राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्छ। एकिन हिसाब आउन बाँकी रहे पनि समानुपातिक मतगणना अन्तिम चरणमा पुगिसक्दा ३ लाख १७/१८ हजार मत थ्रेसहोल्ड सीमा हुने आकलन गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। अब बढीमा लाख मत गन्न बाँकी भएको अनुमान उनले गरे।
अब माथि उल्लिखित सात पार्टीबाहेक थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिएको छ। चमत्कार भयो भने नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सक्ला, अन्यथा अरू दलको सम्भावना देखिँदैन। थ्रेसहोल्ड कटाउन नसकेका दलले ल्याएका समानुपातिक मत गणना नगरिने भएकाले खेर जान्छ।
राष्ट्रिय दल बनेका सात दलमध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेसले ५६, एमालेले ४४, माओवादी केन्द्रले १७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७ र जनमत पार्टीले १ सिट जितेका छन्।
