नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले देउवाको जिम्मेवारी गौरवमय बन्ने अपेक्षा गरेको बताए।
‘संसदीय दलको नेतामा पटक-पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्,’ उनले भने।
निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने थापाले बताए। कांग्रेसका बहुमत सांसदहरू संसदीय दललाई नयाँ रूपले सञ्चालन गर्ने आफ्नो प्रस्तावको पक्षमा नरहेको देखिएको उनले बताए।
आफूले पाएको मत अपेक्षाभन्दा कम भएको उनको भनाइ छ। पराजित भएर पनि संसदीय दलमा उठेर आफूले मतदाताहरूसँग गरेको वाचा पूरा गरेको उनको भनाइ छ।
‘पाँच वर्षको संसदीय कार्यकालको यो प्रारम्भमात्र हो । केही समयपछि फेरि निर्वाचन हुन्छ । फेरि प्रतिस्पर्धा हुन्छ । नयाँ परिणामको अपेक्षा हुन्छ । त्यो बेलासम्म थप सांसद साथीहरूको मन जित्न निरन्तर प्रयास गर्छु,’ उनले भने ।
गगनले थपे, ‘यो मेरो लागि अपेक्षाकृत होइन । तर, म यो परिणामबाट निराश हुन्न । थप मिहिनेत गर्छु । किन संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने कुरा निरन्तर लगिराख्छु । कुनै एउटा समय आउँछ बहुसंख्यक साथीहरूले यसलाई महसुस गर्नुहुन्छ । त्यो बेलामा सुखद परिणामको आशा छ ।
देउवाले दलको निर्वाचनमा ६४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत पाए। देउवा ३९ मतको अन्तरमा विजयी भए।
उनी यो जितसँगै अब छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा छन्। देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन्।
देउवा यसअघि २०७८ असार २८ गते पाँचौँ पटक प्रधानमन्त्री भएका थिए। अब उनी छैटौँ पटकको प्रधानमन्त्री पदको दौडमा अगाडि देखिएका छन्।
