उपराष्ट्रपति चुनावका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन निर्देशिका २०७४ ले उपराष्ट्रपति उम्मेदवारका लागि निश्चित योग्यता र अयोग्यताहरू तोकिदिएको छ । त्यसअनुसार योग्यता पुगेको र अयोग्य मानिने बुँदाहरूबाट टाढै भएको अवस्थामा तपाईंले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिन सक्नुहुन्छ ।
हेरौँ के छ उपराष्ट्रपतिमा उम्मेदवारी दिन चाहिने योग्यता :
क) वंशजको आधारमा नेपाली नागरिक भएको,
ख) कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको
ग) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
घ) कुनै संघीय कानुनले अयोग्य नभएको,
ङ) कुनै लाभको पदमा बहाल नरेको (यो भन्नालो निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिमक वा आर्थिक सुविधा पाउने अन्य पद)
यति भएर मात्र उम्मेदवारी दिनचाहिँ पाइँदैन । अयाेग्यतासम्बन्धी यी बुँदाले पनि छाेएकाे हुनुहुँदैन ।
उम्मेदवारको अयोग्यता
क) योग्यतासम्बन्धी बुँदाहरूमध्ये कुनै सर्त पूरा नभएको,
ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरीबहाल रहेको,
ग) निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैदा वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
ङ) संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बीच वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको,
च) जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
छ) खण्ड घ र ङ मा उल्लेखित कसुरबाहेक पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको,
ज) प्रचलित कानुन बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
ञ) मानसिक सन्तुलन ठीक नभएको,
ट) संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको ।
