पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बधाईंसँगै धन्यवाद दिएका छन्।
आफूसमेत प्रत्यक्ष संलग्न भई श्रमदानबाटै धरानमा खानेपानी योजना पूरा गरेकामा मेयर साम्पाङलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले बधाई ज्ञापन गरेका हुन्। साथै लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै डा. भट्टराईले उनलाई धन्यवादसमेत भनेका छन्।
‘धरानका मेयर हर्क साम्पाङले स्वयंसेवामार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवद्र्धन गरेकोमा बधाई/धन्यवाद’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ। तर पछिल्लो चरणमा देश किनारा पुँजीवाद (Peripheral Capitalism) को जालोमा फसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउँदै गएको छ।’
उनले अगाडि लेखेका छन्, ‘फलस्वरूप हामी झन्झन् परनिर्भर हुँदै गएका छौँ। सानो-सानो कुरा पनि मागेर/चोरेर/भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानोभन्दा सानो श्रम गर्न लजाउने भुइँफुट्टा हुँदै गएका छौँ।’
ट्विटरमा पढ्नुहोस् बाबुराम भट्टराईको पूरा भनाइ–
धरानका मेयर हर्क साम्पांगले स्वयंसेवा मार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुॅदै गएको स्वयंसेवी संस्कृति प्रबर्धन गरेकोमा वधाइ/धन्यवाद!
हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवा मार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ!तर पछिल्लो चरणमा देश किनारा… pic.twitter.com/6zjkhgeHPA— Baburam Bhattarai (@brb1954) June 15, 2023
